अमेरिकाको रोचेस्टर मिनिसोटामा प्रसिद्ध मेयो क्लिनिकको मुख्यालय छ । ३ हजार बढी चिकित्सक र ९० हजार बढी कर्मचारी कार्यरत मेयोको मुख्यालयमात्रै ४० हजार बढीले काम गर्छन् । अमेरिकी हेल्थकेयर जायन्ट मेयोमा कार्डियोभास्कुलर सर्जरी विभागअन्तर्गत एओर्टिक कार्यक्रमको नेतृत्व १२ अक्टोबरबाट एकजना नेपालीले गर्दैछन् । अमेरिकाजस्तो पहिलो विश्वको देशमा एओर्टिक सर्जरीजस्तो संवेदनशील कार्यक्रमको निर्देशक हुने सौभाग्यशाली नेपाली हुन्—कार्डियोभास्कुल तथा एओर्टिक सर्जन प्रा.डा. मलखलाल श्रेष्ठ ।

२६ वर्षदेखि जर्मनीमा बसोबास गरिरहेका कार्डियो भास्कुलर सर्जन डा. श्रेष्ठ प्रोफेसर र एओर्टिक सर्जरी कार्यक्रमको निर्देशक भएर मेयो जान लागेका हुन् । ‘उनीहरुले नेपाललाई पनि स्वास्थ्य उपचारमा मद्धत गर्छु भनेका छन्,’ हालैको एक साँझ उनले हेल्थआवाजसँग भने, ‘अहिलेलाई न्युनतम ३ वर्षको लागि अमेरिका जान्छु ।’ संसारको ठूलो अस्पतालमा भित्रिदैं गर्दा उनीमाथि ५ वर्षभित्र एओर्टिक सर्जरीमा मेयोलाई विश्वभर प्रसिद्धी दिलाउने जिम्मेवारी छ । त्यसका लागि आवश्यक सबै कुरा सम्झौतामा नै उल्लेख छन् । मेयोलाई एओर्टिक सर्जरीमा नयाँ प्रतिष्ठा दिलाउने सीप, ज्ञान र विशेषज्ञतासँगै क्षमता पनि डा. मलखसँग छ । किनभने, त्यो क्षमता देखेर नै मेयोको व्यवस्थापनले सन् २०१९ देखि नै उनलाई पछ्याएको हो । २६ वर्षदेखि मेडिकल क्षेत्रमा कार्यरत उनले जर्मनीको विश्व प्रसिद्ध ह्यानोभर मेडिकल स्कुलको कार्डियोथोरासिक, प्रत्यारोपण र भास्कुल सर्जरी विभागको उपनिर्देशक र एक दशक बढी समयदेखि ‘एओर्टिक सर्जरी’ विभागको प्रमुख भएर काम गरेका छन् । एओर्टिक सर्जरी मुटुबाट निस्किएको नलीको सबैभन्दा गाह्रो शल्यक्रिया मानिन्छ ।

त्यसबाहेक डा. मलखसँग संसारका धेरै विश्वविद्यालयहरुमा भिजिटिङ प्रोफेसरमा काम गरेको अनुभव पनि छ । उनी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका पनि भिजिटिङ भिजिटिङ प्रोफेसर हुन् । हजारौंको मुटुको शल्यक्रिया गरिसकेका यी चिकित्सक जर्मनीमा कार्डियो सर्जरीमात्रै २० वर्ष लामो अनुभव छ ।

‘उहाँ मेयोको एओर्टिक सर्जरी कार्यक्रमको नेतृत्व गर्न आउँदै हुनुहुन्छ । उहाँ एओर्टिक कार्यक्रमको निर्देशक पोष्टमा जर्मनीबाट आउन लाग्नुभएको हो,’ मेयोका अंकोलोजी फ्याकल्टी डा. सिद्धार्थ यादवले हेल्थआवाजसँगको इमेल कुराकानीमा भने, ‘अमेरिकामा विशेषतः अमेरिकामै रेजिडेन्सी नगरीकन काम गर्न पाउँदैन् । तर, केही विशेष चिकित्सकका लागि त्यो नियम लागु हुँदैन । उहाँ तिनै विशेष चिकित्सकमा पर्नुहुन्छ, यो हामी सबै नेपालीका लागि गौरवको विषय हो ।’ अमेरिकी हेल्थकेयरमा सबैभन्दा ठूलो मध्येमा पर्ने अस्पतालको एओर्टिक कार्यक्रम हाँक्न लागेका डा. मलखको जन्म ललितपुरको शान्ता भवनमा सन् १९६६ मा भएको हो । बुवा स्व. प्रा.डा.मणिकलाल श्रेष्ठ र आमा स्व. सुशीला सिंह श्रेष्ठका दुई सन्तानमध्ये उनी जेठा हुन् । उनकी आमा सुशीला नेपालको पहिलो महिला वलिक तथा सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीस हुन् । नेपालको शिक्षा र अन्य क्षेत्रमा योगदान पु¥याउने विशिष्ट व्यक्तित्वहरुको परिवारमा जन्मेकाले डा. मलखको शिक्षादीक्षामा पनि उत्कृष्ट वातावरणमा भएको हो । उनको प्रारम्भिक शिक्षादीक्षा आनन्दकुटी स्कुलबाट अगाडि बढेको हो । केही वर्ष आनन्दकुटीको होस्टेलमा बसेर पढेपछि उनी बुढानिलकण्ठ स्कुल गए । ‘म बुढानिलकण्ठ स्कुलको तेस्रो ब्याचको विद्यार्थी हुँ,’ उनले सुनाए, ‘बुढानिलकण्ठको वातावरण एकदमै राम्रो थियो ।’ त्यो बेला बुढानिलकण्ठमा हरेक ब्याचमा ७५ जना हुन्थे । जसलाई विभिन्न जिल्लाबाट ब्रिटिसहरुले नै छनोट गर्थे । ८—९ वर्षको उमेरमा बुढानिलकण्ठ गएका उनी त्यसबेला काठमाडौं चिसो हुने र बुढानिलकण्ठ झनै चिसो रहेको बताउँछन् । स्कुल जीवनमा मलखलाई सबै विषय उतिकै मन पर्थे । पढाइमा अब्बल उनी कक्षा ४ देखि नै प्रायः कक्षामा प्रथम हुन्थे । अतिरिक्त क्रियाकलापमा ब्याटमिन्टन, दौड र फुटबलमा उनको बढी रुचि थियो । डा. मलख १० कक्षामा हुँदा पूर्वराजा स्व. दीपेन्द्र वीरविक्रम शाह बुढानिलकण्ठमा पढ्न आएका थिए । त्यसपछि बुढानिलकण्ठको बाहिरी सुरक्षामा अलि कडाइ गरिएको अनुभव उनको छ । ‘तर, स्कुलभित्र धनी, गरिब सबै एकै ठाउँमा हुन्थे । सबै नेपाली मात्रै हो भन्ने सिकाइन्थ्यो,’ उनी स्मरण गर्छन्, ‘मैले अस्कलमा पढेपछि मात्रै तराई, पहाड, हिमालका व्यक्ति भनेर चिनेको हुँ ।’ वि.सं. २०३८ सालमा उनले बुढानिलकण्ठबाटै एसएलसी दिए । एसएलसीमा बोर्डको डा. मलख १० औं स्थानमा आए । आमाबुवा व्यस्त भएकाले उनको अधिकांश बाल्यकाल होस्टेलमा बितेको हो । एसएलसी पास गरेपछि उनी छात्रवृत्तिमा विज्ञान पढ्नका लागि अमृत साइन्स क्याम्पस (अस्कल) गए । अस्कलमा उनले बायोलोजी विषयमा टप नै गरे । वि.सं. ०४२ सालमा उनले अस्कलबाट आईएस्सी सके । उनका बुबाआमा नै कानुन पढेका थिए । तरपनि, उनलाई यही नै पढ्नुपर्छ भन्ने कुनै करकाप थिएन् । डा. मलखलाई सुरुवाती दिनहरुमा कानुन पढ्ने रहर थियो । तर, कालान्तरमा उनले डाक्टर बन्ने बाटो रोजे । अस्कलबाट आईएस्सी सकिएपछि उनले आरजीकर मेडिकल कलेज कलकत्तामा एमबीबीएस अध्ययनका लागि जगदम्बा छात्रवृत्ति पाए । त्यसपछि उनी सन् १९८६ मा एमबीबीएस पढ्नका लागि कलकत्ता कलकत्ता गए । ‘त्यो बेला एमबीबीएस पढाइ घोक्नुपर्ने, अत्याधिक मेहनत गर्नुपथ्र्यो,’ उनी आफ्नो एमबीबीएस अनुभव सुनाउँछन्, ‘मेसिन छुन नपाउने अवस्था थियो, परैबाट हेर्नुपथ्र्यो । तर, अहिले भने धेरै विकसित भएको छ ।’ त्यहाँबाट उनले एमबीबीएस उत्तीर्ण गरे । सन् १९९२ मा उनी इन्टर्नसमेत सकेर स्वदेश फर्किए ।

Read more >>

 

 

Related Posts